११ आश्विन २०८०, बिहीबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
दलितलाई पानीको धारामा बन्देज कायमै - News Humla
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेश

दलितलाई पानीको धारामा बन्देज कायमै

रेशमराज रोकाया
हुम्ला, असार, २१
समय परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो तर दलितको अवस्था परिवर्तन हुन सकेन । छुवाछुत देशको कानुनले हटायो तर ठकुरी सामुदायको समुदायमा अझै पनि दलितको लागि हेप्ने र छुवाछुतको अवस्था कायम रहेको छ । ठकुरीको राज गाउँ ठाउँमा उस्तै रहेको छ । दलितलाई एकै पँधेरोमा पानी पिउनको लागि अझै अनुमति छैन ।
सर्केगाड गाउँपालिाको वडा नं. ६ छ्याँगी गाउँको हस्तकला विश्वकर्मा दलित समुदायका प्रतिनिधित्व गर्ने पात्र हुन् । उनको गाउँमा शाहि ठकुरिको बस्ति उनको बस्ती भन्दा केही तल छ । यहाँ ठकुरीकै राज चल्छ । जातिय विभेदलाई राज्यले अपराध भनेर कानून ल्याए पनि हामी सुरक्षित महसुस गर्दैनौँ हस्तकला आँखाभरी आँशु सहित पीडा पोख्छन् ।
छुवाछुतका कारण हामीहरु ठकुरीको घरमा जादैनौँ । हामीहरु ठकुरीको घर आँगनमा छिर्यौँ भने अशुभ मान्ने चलन अझै रहेको छ र देवता रिसाउँछन् भन्ने अझै परम्परागत विश्वास कायम रहेको छ ।

हाम्रा छोराछोरीहरु गल्तीले उनीहरुको घरआँगनमा छिरिहाले भने उनीहरु दन्डित हुन्छन् । कि पिटाइ खान्छन् कि तथानाम गाली सुन्नुपर्छ । ठुलाहरु गए पनि त्यस्तै गर्छन् । कहिलेकाहीँ हामीमाथि हुने दमन हामीले पुलिसलाई भन्दा केही कारवाही हुँदैन। सबैतिर उनीहरुकै हालिमुहालि छ । हामीले कसैलाई केहि भन्यौँ भने हाम्रो घर मै आएर हामीलाई धम्काउछन् । हामी सँधै डरै डरमा बाच्नुपरेको छ।

गाली मात्रै होईन गाउँमा दलित र ठकुरीको लागि खानेपानीको व्यवस्था समेत छुट्टै रहेको छ । धारा फरक भए पनि दलितलाई छुट्याईएको पानीको धारामा आउने पाइप काटेर पानी पनि अवरुद्ध गरिदिन्छन् । कहिले पानी बन्द हुन्छ हामीलाई थाह नै हुँदैन । सबै घरमा एकनासले पानी बितरण हुनुपर्ने हो तर पाइप घुसाएर आफ्नो घरतिर मात्र लान्छन् । त्यसो हुँदा हाम्रो धारा सुक्खा हुन्छ अनि फेरी हामी कर्णाली नै धाउनुपर्छ । हामी सबैलाई थाह छ हामीले कर्णालीको पानी प्रदुषित गरिसक्यौँ भनेर । तर घरमा ल्याएर उमालेर खान पनि सजिलो छैन । यतिकै पिउछौँ ।

कर्णाली किनार जान पनि जोखिमपुर्ण छ । ठुलो भल बगेको बेलामा हामीलाई नि बगाएर लान सक्छ । कैयौं पटक पानी ओसार्ने क्रममा गाग्री कर्णाली नदीले बगाएको छ्याँगी वडाका दलितको अनुभव रहेको छ । धन्न पानी भर्ने मानिसको ज्यान गएको छैन ।

हाम्रो आफ्नो खेति गर्न ठाउँ पनि छैन । कर्णाली करिडोरको राजमार्ग विस्तार गर्दा सरकारले सबै जमिन लग्यो । अब यो चार कुना जग्गा बाँकी छ जहाँ हाम्रो घर छ । त्यो पनि उपल्लो जातकाले आँखा लगाउछन् । हामीलाई देखि सहनन् । उनीहरुको चहाना भनेको हामीले यो ठाउँ छाडेर जानु नै हो जस्ता तमाम पीडको विचमा दलित समुदायको बस्ती बाँची रहेको छ ।

जातिय विभेदको कारण यस समुदायका धेरै पुरुषहरु विदेसिएका छन् । अब बुढापाका, महिला र धामीझाँक्रीहरु मात्र बाँकी छन् । अपहेलित भएर बस्नुभन्दा त यो ठाउँ छाडेर जानु नै ठिक सोच्छन् । हाम्रो छोराछोरी जाने एक मात्र विद्यालाय पनि भत्किएको छ, त्यो पनि कहिले बन्ने हो हामीलाई थाह छैन ।

जातिय विभेदलाई राज्यले अपराध भनेर कानून ल्याए पनि हामी सुरक्षित महसुस गर्दैनौँ । सबैले हामी समान हो, सबैको एउटै रगत हो, मायाले बाढेर नखाएसम्म हाम्रो जस्तो दलित बस्तिहरुले कहिले शान्ति र न्याय पाउँदैनन् । स्थानिय सरकारलाई यो समस्याको बारेमा अवगत भएको भएता पनि यसको कुनै चासो र चिन्ता नलिएको कारण स्थानिय क्रोधित छन् । अब हामीले कहिले सम्म यस्तो उत्पिडनबाट मुक्ति पाउने थाहा नभएको दलित समुदायका बस्तीको आशा समेत मरेका बताउँछन् ।

 

 

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button