१४ आश्विन २०८०, आईतवार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
घुम्न जाने होइन त निस्कोट बराही ताल? - News Humla
पर्यटन

घुम्न जाने होइन त निस्कोट बराही ताल?

चारैतिर हरियाली। डाँडाको बीचमा सुन्दर ताल। तालमा हिमालको प्रतिविम्व। शान्त अनि शितल। निस्कोटगाउँको शिरमा रहेको बराही तालमा पुग्दा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ। तालमा हरेक बिहान चुरेन, पुतली, मानापाथि र धवलागिरि हिमालले पौडी खेल्छन्।

हिँडेर तालको फन्को मार्न करिब १० मिनेट लाग्छ। मालिका गाउँपालिका वडा नं १, म्याग्दी जिल्लामा पर्दछ ताल। ताल नजिकै कानीबराह मन्दिर छ। नजिकै सिद्धथान पनि छ। बराह मन्दिरमा पुरानो गाग्री राखिएको छ।

पहिला त्यहाँ हुक्का पनि थियो। दुई वर्ष अघि मन्दिरबाट हुक्का चोरी भएको गाउँलेले बताए। मन्दिर बनाउने क्रममा ढुंगा फोर्दा गाग्री र हुक्का भेटिएको थियो। तिनैलाई मन्दिरमा राखिएको थियो।

विशेषतः वैशाख र मंसिरमा बराहलाई हाँसे गोरे पाठा (सेतो भेडाको साँढ) चढाइन्छ।

स्थानीय अगुवा दिल कुमार पुनका अनुसार सेरोफेरोका गाउँलेहरु वनभोज खान र घुम्न निस्कोटआउने गरेका छन्। यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उनीहरुको योजना छ। नजिकै होमस्टे सञ्चालन गर्ने, फूलबारी बनाउने, पदमार्ग बनाउने, डुँगा चलाउने लगायत व्यवस्था गर्ने योजना।

ताल मात्र होइन, निस्कोटगाउँ आफैंमा सुन्दर छ। यहाँ पुन र दलित समुदायको बसोबास छ।  वैदेशिक रोजगारी र कृषि यहाँको आम्दानीको मुख्य आधार हुन्। पर्यटन विकास गर्ने सके युवाहरु विदेशिनेक्रम रोकिन सक्ने देखन्छ।

निष्कोतमा दुई रात बसेर घुम्ने ठाउँहरु छन्। गाउँको सेरोफेरोमा बराही ताल, सिद्ध थान, स्याल गुफा, भालु गुफा, गौथली भीर, महभीर, स्लेट ढुंगा खानी, कोट मन्दिर लगायत थुप्रै सम्पदा छन्।

वर्षैभरि बराही ताल घुम्न सकिन्छ। मनसुनमा चारैतिर हरियाली हुन्छ। हिउँदमा हिमाल छर्लगै खुल्छन्। चैत वैशाखमा ताल वरिपरिको जंगल लालीगुरासँले राताम्मे बन्छन।

पर्यटकका लागि गाउँमा सामान्य खाना र बास सुविधा पाइन्छ। गाउँमा सामुदायिक होमस्टे विकास हुनु पर्ने देखिन्छ। म्याग्दीका पर्यटन अभिन्यता राजेश शाक्य भन्छन्, ‘निस्कोटमा होमस्टे व्यवस्थापन तालिम चलाउन र पर्यटन प्रवर्द्धन गर्न हामी पहल गर्नेछौं।’

अन्त्यमा निस्कोटगाउँमा प्रचलित एउटा गीतः
निस्कोटमाथि क्या राम्रो बराही ताल
घुम्दै हेर्दै लगाउँला मायाजाल

कसरी पुग्ने?
काठमाडौंबाट पोखराहुँदै बेनी २८२ किलोमिटर। बेनीबाट दरबाङ २४ किलोमिटर। दरबाङबाट ९ किलोमिटरमा निस्कोटगाउँ। तालको किनारासम्म जिप पुग्छन्।

उज्यालो गाउँ
दिल कुमार पुन, जनप्रतिनिधि

हामी हाम्रो गाउँलाई नमूना पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं। बराही तालको सौन्दर्यीकरण, आवश्यक पूवार्धार विकास र व्यवस्थित सडक निर्माणका लागि ठूलो रकम चाहिन्छ।
यसका लागि हामीलाई प्रदेश सरकार र केन्द्र सरकारले नै बजेट व्यवस्था गर्नुपर्छ। सरकारले निस्कोटक्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु पर्ने हाम्रो माग छ।
सम्पर्क: ९८६७८४६९२८

 

 

 

 

 

 

 

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button