१४ आश्विन २०८०, आईतवार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
'आफूले गरेको कामको पैसा पाउँदा धेरै खुसी लाग्दो रहेछ' - News Humla
Banner NewsBanner news (with photo)ताजा समाचारसफलताको कथा

‘आफूले गरेको कामको पैसा पाउँदा धेरै खुसी लाग्दो रहेछ’

तनहुँकी शान्तिमाया थापामगर बिहान तीन बजे उठेर वस्तुभाउको हेरचाह, घरधन्दासँगै घाँउदाउरा गर्थिन्। बिहानदेखि बेलुकासम्म दैनिक १६ घन्टा काममै बित्थ्यो।

जति काम गरे पनि आर्थिक रूपमा उनको आफ्नो भन्ने केही पनि थिएन।

केही वर्षयता उनका दिन फेरिएका छन्।

अचेल उनी दैनिक आठ घन्टा काम गर्छिन्। महिनाको ३० हजार रूपैयाँ आम्दानी गर्छिन्। उनको कामले पैसा कमाउन थालेपछि शान्तिमायाको आत्मविश्वास चुलिएको छ।

शान्तिमायासँग हाम्रो भेट हालै काठमाडौंमा ‘होमनेट दक्षिण एसिया (एचएनएसए)’ ले आयोजना गरेको कार्यक्रममा भएको थियो। हाल उनी सिलाइबुनाइ र धागो रंगाउने काम गर्छिन्।

यहाँसम्म आइपुग्न शान्तिमायालाई सजिलो थिएन। पन्ध्र वर्षकी छँदै उनको बिहे भएको हो। बिहेपछि पढाइ माइतमै छुटिगयो। रहर भए पनि स्कुल जाने सपना मात्रै भयो।

‘बिहे भएपछि पनि पढ्ने इच्छा गरेकी थिएँ तर पाइनँ,’ ५० वर्षीया उनले भनिन्, ‘त्यति बेला पढाउने चलन थिएन। अहिले जस्तो भए त पढ्न पाउने थिएँ होला।’

उनले सात कक्षासम्म मात्र पढिन्। औपचारिक शिक्षा रोकिए पनि पत्रपत्रिका र सक्ने किताबहरू पढ्ने बानी उनको छ।

बिहे गरेर गएपछि बुहारीको जिम्मा घरको काम न हो! घाँसदाउरा, मेलापात, गोठाला–खेताला, ढिकीजाँतो, भातभान्सा यस्तै। बिहान झिसमिसेमै उठेदेखि राति अबेर घरधन्दा नसकिउन्जेल टुसुक्क बस्ने फुर्सद हुन्थेन। कामले ज्यान लखतरान हुन्थ्यो।

शान्तिमायाका श्रीमान पोखरामा एउटा कपडा पसलमा कामदार थिए। केही वर्षपछि उनलाई पनि श्रीमानले पोखरा बोलाए। पोखरामा मासिक दुई सय रूपैयाँ कोठाभाडा तिरेर बस्न थाले। श्रीमान पसलमा काम गर्न जान्थे। शान्तिमाया घरायसी काममै व्यस्त हुन्थिन्।

एक दिन शान्तिमायाले पोखरामा ‘महिला सिप विकास संस्था’ ले सिलाइबुनाइको तालिम दिन लागेको थाहा पाइन्। श्रीमानले पनि तालिममा जान हौस्याए।

तालिममा २५ जना महिला सहभागी भए तर सिलाइ मेसिन दुई वटा मात्र थिए। एक दिन बिराएर मेसिन चलाउने मौका आउँथ्यो।

‘सिलाइ मेसिन चलाउन एक दिन कुर्नु पर्थ्यो। कुरेरै भए पनि चलाउन सिकेँ,’ उनले भनिन्।

घाँसदाउरामा दिन बिताएकी शान्तिमायाका लागि लुगा सिलाउने मेसिन चलाउन सिक्नु पनि चानचुने कुरा थिएन। कैंचीले कपडा काट्न अर्काको देखेजस्तो सजिलो भएन। सुरूमा त डरै लाग्यो। बिस्तारै हात बस्यो। तीन महिनामा टोपी, भोटो, चोलो र कुर्तासुरुवाल सिलाउन जानिन्।

घरबाट बाहिर निस्केपछि शान्तिमायाका लागि अवसरको ढोका खुल्न थाल्यो। उनले सिलाइबुनाइको थप तालिमका लागि काठमाडौं जाने अवसर पाइन्।

शान्तिमायाका अनुसार श्रीमान काठमाडौं पठाउन तयार थिएनन्। काठमाडौंमा एक्लै कसरी बस्ली भन्ने उनको चिन्ता थियो।

‘एक्लै नजाऊ भन्नुहुन्थ्यो तर मलाई जसरी पनि जानु थियो,’ उनले भनिन्, ‘सम्झाइबुझाइ गरेर म गएँ।’

काठमाडौं जाने खर्च पोखराकै संस्थाले दियो। काठमाडौंमा तालिम अवधिभर बस्नेखाने सुविधा थियो। सुरूमा कलागुठीमा धागो रंगाउने र नेपाली थैली सिलाउने तालिम पाइन्। लेडिज ब्याग र खेलौनाहरू बनाउन सिकिन्।

धागो धोएर घाममा सुकाउनु पर्थ्यो। फेरि आगोमा सेकाएर धागो रंगाउनु पर्थ्यो। यसरी उनले धागो रंगाउन सिकिन्। कामको सिप बढ्दै गएपछि शान्तिमायाले सिलाइबुनाइकै काम गर्ने सोचिन्। गाउँको वनपाखामा दुःख गरेकी उनलाई सिलाइबुनाइको काम सजिलो लाग्यो।

पहिलो पटक काठमाडौं आएकी उनलाई बाटो काट्न पनि डर लाग्थ्यो।

‘फुर्सदको समय बाहिर घुम्न जाँदा गाडी कुदिरहेको बेला बाटो काट्थेँ,’ उनले भनिन्, ‘ट्राफिकले गाली गर्थे। अहिले त ढुक्कसंग बाटो काट्न सक्छु।’

काठमाडौं तीन महिनाको तालिम सकी सिप र आत्मविश्वास बोकेर शान्तिमाया पोखरा फर्किन्। पहिले तालिम लिएकै संस्थामा मासिक सात सय रूपैयाँ पाउने गरी जागिर पाइन्।

‘आफूले गरेको कामको पैसा पाउँदा कति धेरै खुसी लाग्दो रहेछ,’ उनले भनिन्।

विस्तारै दुवैको कमाइ भएपछि शान्तिमाया र उनका श्रीमानले पोखरामा जग्गा किनेर एउटा घर बनाए। सुरूमा उनको घरदेखि संस्थासम्म जान बाटो बनेको थिएन। उनी एक घन्टा हिँडेरै पुग्थिन्। बाटो बनेपछि सहज हुँदै गयो।

सन्तान जन्मेपछि उनलाई समय व्यवस्थापनमा केही समस्या भयो। घरायसी काम, बच्चाको स्याहारसुसार र जागिरको समय मिलाउनु सजिलो भएन। तर पनि सबै व्यवस्थापन मिलाउँदै शान्तिमाया अघि बढिन्।

शान्तिमायाले अहिले पनि त्यही संस्थामा काम गर्छिन्। सात सय रूपैयाँ मासिक तलब बढेर तीस हजार रूपैयाँ पुगेको छ। संस्थामा सहायक प्रमुखको जिम्मेवारी सम्हालेकी छन्। संस्थाको अभिलेख राख्ने, कार्यक्रम योजना बनाउने लगायत काम उनको जिम्मामा छ।

उनी कार्यरत संस्था आफ्नो उत्पादन बिक्रीका लागि ‘होमनेट दक्षिण एसिया (एचएनएसए)’ मा जोडिएको छ। एचएनएसएले घरमै बसेर सिपमूलक काम गर्ने महिलाहरूले तयार गरेका उत्पादन बिक्रिका लागि मद्दत गर्छ।

अहिले उनका सन्तान नै जागिरे भइसके। आफूले पढ्न नपाए पनि आफ्ना सन्तानले पढेको देख्दा उनको मन दंग छ।

भन्छिन्, ‘दुई छोराले स्नातक तहसम्मको पढाइ पूरा गरेका छन्। बिहेबारी भइसक्यो। बुहारीहरू सरकारी जागिरे छन्। सन्तोक लाग्छ।’

संस्थामा काम गर्दै उनले अरू सिप सिक्ने मौका पनि पाइन्। झोला, खैलौनाहरू जस्ता सामान बनाउन आउँछ। उनलाई यिनै सिपले आत्मनिर्भर बनाएको छ।

‘आफ्नो कामको पारिश्रमिक पाउने भएपछि म आत्मनिर्भर भएँ। आफ्नो निर्णय आफैं गर्न सक्ने भएँ,’ उनले भनिन्, ‘पहिला कतै जानुपर्दा श्रीमानको अनुमतिबिना जान पाउँदिन थिएँ। अहिले आफ्नै खुसीमा हिँड्छु, डुल्छु।’

शान्तिमाया संस्थामा जोडिँदा १७ वर्ष उमेरकी थिइन्, अहिले पचास पुगिन्। यो लामो अनुभवबाट उनलाई पक्का भएको छ- महिला आर्थिक रूपले आत्मनिर्भर हुने काममा लाग्नुपर्छ।

‘हरेक महिला आफ्नो खुट्टामा आफैं उभिनुपर्छ। चुलोचौकामा मात्र सीमित हुनु हुँदैन,’ उनी भन्छिन्, ‘बाहिरको काम गर्नुपर्छ जसले हामीलाई स्वतन्त्र हुन पनि सिकाउँछ।’

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button