११ आश्विन २०८०, बिहीबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
८० हजारमा मोटरसाइकल बेचेर घाँस खेती थाले, अहिले भयो ५० लाखको - News Humla
अर्थतन्त्रअर्थव्यवस्थाकृषिसफलताको कथा

८० हजारमा मोटरसाइकल बेचेर घाँस खेती थाले, अहिले भयो ५० लाखको

पछिल्लो समय वैदेशिक मोह बढिरहेको छ। २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन्। नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ।

नेपालमै केही गर्नुपर्छ भन्ने सोच कमैमा भेटिन्छ। तिनै कममध्ये एक हुन् गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली।

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर कर्म गरिरहेका छन्। उनको मुख्य धारणा ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने हो।

मुख्य गरेर घाँसखेती गरेका गोकर्णले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउँछन्। उनी खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउँछन्।

२०७६ साउनदेखि ८० हजार रूपैयाँ लगानीमा उनले घाँस खेती सुरू गरेका हुन्। त्यसलाई अहिले ५० लाख रूपैयाँभन्दा बढीको बनाइसके।

‘गत जेठदेखि भदौसम्म मात्र १९ लाख रूपैयाँको घाँसका बिरूवा बेचेँ,’ उनले भने।

उनीसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बागलुङका किसानले बिरूवाहरू किनेका हुन्।

उनीसँग अहिले ३१ लाख रूपैयाँ बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन्। उनले कुल एक सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन्। सो जग्गामध्ये ८० रोपनी गोकर्णकै हो। बाँकी ४० रोपनी भाडामा लिएका हुन्।

बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालन पनि गरेका छन्।

घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालन रोजेको उनले बताए। आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राखेका छन्। भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कुल ६ लाख रूपैयाँ लगानी गरेका गोकर्ण आम्दानीको सुरूआती चरणमा रहेको बताउँछन्।

गोकर्णले सुरू गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ। आफूसँगै दिनभर अर्का एक र मौसमी रूपमा १०/१२ गरी औसतमा दैनिक आठ जनाले फर्ममा रोजगारी पाएका छन्।

यीबाहेक उनकी आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई सहयोग गर्छन्।

‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ,’ गोकर्णले भने।

आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो उनले व्यक्त गरे। स्थानीयहरू आफ्नै गाउँमा काम गर्न हिच्किचाउने अनुभव उनको छ। राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन्।

आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउँछन् उनी। पशुपालन धेरै ठाउँमा गरिरहेको देखेका उनले पशुको आहार व्यवस्थापन भने सहरबाट भइरहेको पाए। आहारको व्यवस्थापन आफैंले गर्न सकेमा आम्दानीको स्रोत बढ्ने उनको बुझाइ रह्यो। त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले बताए।

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय गरे निकै फाइदा पुग्ने उनको धारणा छ। आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताए।

गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्थे। केही गर्ने हुटहुटीले उनले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेको बताउँछन्। उनका अनुसार ८० हजार रूपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरूवा ल्याएर रोपेका हुन् उनले।

पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेका छन्। उनले यसलाई सफलताको रूपमा लिएका छन्।

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आफू घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताए। फागुनदेखि जेठ महिनासम्मको सुख्खायाममा घाँसको हाहाकार हुन्छ। त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न लागिरहेको उनले बताए।

‘मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छु,’ गोकर्णले भने।

ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन छ। मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँस खेती सुरू गर्दा गोकर्णलाई गाउँलेले मजाक उडाएका थिए।

‘सबैले मलाई पागल भन्दै हिँडिरहेको सुन्दा पनि म कत्ति विचलित भइनँ,’ गोकर्णले भने, ‘सुरूआती चरणमा पागल भन्नेहरूले अहिले प्रशंसा गर्दा आफूलाई सफल भएको अनुभूति हुन्छ।’

उनी कृषि र पशुपालनमा छिट्टै प्रतिफल खोज्न नहुने बताउँछन्। हचुवाको भरमा कुनै क्षेत्रमा पनि आर्थिक लगानी नगर्न पनि उनले सुझाए।

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button