११ आश्विन २०८०, बिहीबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
यसरी सुरू भएको थियो विश्वकप फुटबल, फाइनल हेर्न पुगेका थिए ९३ हजार दर्शक - News Humla
अर्थतन्त्रअर्थव्यवस्थाखेलकुदमनोरञ्जन

यसरी सुरू भएको थियो विश्वकप फुटबल, फाइनल हेर्न पुगेका थिए ९३ हजार दर्शक

सन् १९३० मा उरूग्वेले विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिता विश्वकप फुटबल आयोजना गर्ने मौका पाएको थियो।

१३ जुलाई देखि ३० जुलाईसम्म विश्वकपको आयोजना गर्नका लागि उरूग्वेलाई एक वर्षअघि नै अधिकार दिइएको थियो।

सन् १९२९ मा बार्सिलोनामा सम्मेलन गरिएको थियो, त्यहीँ सम्मेलनले उरूग्वेलाई विश्वकप आयोजना गर्ने निर्णय गरेको थियो।

invotech

उरूग्वेले सन् १९२८ मा हल्याण्डको आम्स्टर्डम भएको ओलम्पिक खेलमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो। उरूग्वेमा रंगशालाहरू खासै व्यवस्थित थिएनन्। तर पनि युरोपली राष्ट्रहरूलाई पछि पार्दै दक्षिण अमेरिकी राष्ट्र उरूग्वे विश्वकपको पहिलो संस्करण आयोजना गर्न सफल भएको थियो।

पहिलो विश्वकपमा १३ टिम भाग लिएका थिए।

अर्जेन्टिना, चिली, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, आयोजक उरूग्वे, रोमानिया, पेरू, अमेरिका, पाराग्वे र बेल्जियम विश्वकपको पहिलो संस्करणमा छनोट भएका थिए। सहभागी टिमलाई चार समूहमा विभाजित गरिएको थियो। एउटा समूहमा चार राष्ट्र सहभागी थिए भने अन्य समूहमा ३–३ राष्ट्र।

प्रतियोगितामा समूह चरणमा शीर्ष स्थान हात पार्दै अर्जेन्टिना, युगोस्लाभिया, उरूग्वे र अमेरिकाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएका थिए। अमेरिकालाई सेमिफाइनलमा ६–१ को फराकिलो अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो।

फाइनलमा अर्जेन्टिनासँगको भिडन्तलाई पक्का गर्ने क्रममा आयोजक उरूग्वेले युगोस्लाभियालाई ६–१ कै अन्तरले पराजित गरेको थियो।

यसअघि सन् १९२८ को ओलम्पिकमा भिडेका दुई राष्ट्र अर्जेन्टिना र उरूग्वेले नै पहिलो विश्वकपको फाइनलमा स्थान बनाएका थिए। यो प्रतियोगितामा तेस्रो स्थानका लागि भने कुनै भिडन्त नै भएको थिए।

जुलाई ३० का दिन उरूग्वेको सेन्टेरियो रंगशालामा पहिलो विश्वकप जितेर इतिहास रच्नका लागि मैदानमा दुई टिमहरू उत्रिएका थिए। पहिलो विश्वकपको फाइनल खेल हेर्न ९३ हजार दर्शकहरू रंगशालामा आएका थिए।

अर्जेन्टिनाबाट मात्रै १५ हजार समर्थकहरू फाइनल भिडन्त हेर्न आएका थिए।

फाइनल खेलमा अर्जेन्टिनालाई ४–२ ले हराउँदै आयोजक उरूग्वेले पहिलो विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको थियो। पहिलो विश्वकपको उपाधि जित्दै राष्ट्रिय फुटबल टोलीले इतिहास कायम गरेको भोलिपल्ट उरूग्वेमा सार्वजनिक बिदाको घोषणा गरिएको थियो।

यता अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा भने स्तब्ध समर्थकहरूले उरूग्वेको राजदुतावासमा ढुंगा हानेका थिए।

प्रतियोगितमा सर्वाधिक ८ गोल गर्ने अर्जेन्टिनाका गियुललेर्मो स्टेबिल पहिलो विश्वकपको सर्वाधिक गोलकर्ता घोषित भए। पहिलो विश्वकपमा तीनवटा रंगशालाको प्रयोग गरिएको थियो।

फाइनल खेल खेलाइएको रंगशाला उरूग्वेको स्वतन्त्रता दिवसको अवसरमा बनाइएको थियो।

यो रंगशालालाई अहिले पनि उरूग्वेलीहरू स्वतन्त्रता तथा विजयको प्रतिकका रूपमा हेर्छन्। पहिलो विश्वकपको पहिलो खेल फ्रान्स र मेक्सिकोबीच खेलाइएको थियो। फ्रान्सेली खेलाडी लुसियन लाउरेन्टले विश्वकपको पहिलो खेलको १९ औ मिनेटमा गोल गरेका थिए।

विश्वकप फुटबलकै इतिहासमा यो पहिलो गोल हो। मेक्सिकोलाई ३–१ ले हराउदै फ्रान्सले यही खेलबाट विश्वकपको पहिलो खेल जित्ने इतिहास बनाएको थियो।

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button