१५ आश्विन २०८०, सोमबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
हरिरामलाई अरूले 'सधैं तरकारी मात्र खान्छौ' भन्थे, अहिले उनकै सिको गर्छन् - News Humla
कृषिसफलताको कथा

हरिरामलाई अरूले ‘सधैं तरकारी मात्र खान्छौ’ भन्थे, अहिले उनकै सिको गर्छन्

कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, बालुवाफाटाका हरिराम चौधरी तरकारी उत्पादन कृषक हुन्। उनले स्कुलमा एउटा ऐच्छिक विषयमा कृषि पढेका थिए। यसैले उनलाई अग्रणी कृषक बनायो।

उनका बुबाआमा धान, गहुँजस्ता अनाजको खेती गर्थे। बचेको थोरै अन्नपात बेचेर घरखर्च चलाउँथे। थोरै अन्न बेचेको पैसाले वर्षभरि खर्च पुग्दैनथ्यो। हरिराम घरमा पैसाको समस्या परेको थाहा पाउँथे।

‘धान, गहुँ ६ महिनामा हुने बाली। बेचेर पैसा बनाउँदासम्ममा पढाइ खर्च, खेतीको खर्च र औषधिमूलोका लागि सापट मागेर चलाउनुपर्थ्यो,’ हरिरामले भने।

हरिराम गाउँबाट पढ्न धनगढी आए। स्कुल पढ्दा एक विषय ऐच्छिकमा कृषि थियो। उनले धनगढीको पञ्चोदय माविमा कृषि विषय पढेका हुन्।

कृषिमा रूचि बढ्यो तर उनी हातमा पैसा भइरहने किसिमको खेती गर्न चाहन्थे। गाउँमा कृषिसम्बन्धी कार्यक्रम जान थाले। घरको लागि चाहिने तरकारी लगाउन थाले।

२०५१ सालमा जिल्ला कृषि सेवा केन्द्रले कृषकको भ्रमण गराएको थियो। हरिराम पनि भ्रमणमा नेपालगन्ज जान पाए। हरिरामले त्यहाँ गएपछि कृषि सम्बन्धी धेरै देखे, सिके। त्यहाँका किसानले कृषिमा धेरै काम गरेको देखे, कृषिका औजारहरू देखे।

उनले भने, ‘त्यहाँ व्यावसायिक तरकारी खेती गरिरहेका किसानहरूसँग कुरा गर्न पाएँ। आम्दानी राम्रो देखेपछि, मलाई पनि त्यही पेसामा लाग्ने चासो भयो।’

हरिरामलाई कृषि सेवा केन्द्रबाट भम्रणमा गएको भत्ता र आउने-जाने खर्च पनि मिलेको थियो।

‘कृषि गरे भम्रण गर्न पाइने, पैसा पनि कमाइने,’ उनले भने, ‘कृषिमा सरकारले पनि अनुदान दिने कुरा मलाई राम्रो लाग्यो।’

भम्रणबाट फर्केपछि उनले मौसमी, बेमौसमी सबै खाले तरकारी खेती गर्ने सोच बनाए। सुरूमा दुई कट्ठा जमिनमा काउली, बन्दा र टमाटर खेती गरे। फलाएको तरकारी साइकलमा राखेर गुलरिया, अत्तरिया लगायतका बजारका होटल, पसलमा बेचे। थोरै भए पनि हातमा पैसा हुन थाल्यो।

‘तरकारी खेती सुरू गर्दा मलाई मान्छेहरू सधैं तरकारी मात्र खान्छौ कि, अबदेखि भात खाने होइन र भन्थे,’ उनले सुनाए।

हरिरामले कसैको कुरा वास्ता गरेनन्, तरकारी खेती गर्न छाडेनन्। जमिन बढाएर खेती बढाउँदै गए। जमिन भाडामा समेत लिएर तरकारी लगाए। कुनै सिजनमा राम्रो हुन्थ्यो, कुनै बेला मौसमका कारण पनि बिग्रिन्थ्यो। तर लगातर प्रत्येक साल तरकारी लगाएर बिक्री गरे।

निरन्तरता दिएपछि उनी बिस्तारै तरकारी खेतीमा व्यावसायिक कृषकका रूपमा जिल्लामा चिनिँदै गए।

२०७५ सालमा उनले ‘राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार’ पाए। त्यस बेला उनले कृषक समूहमा कञ्चनपुर जिल्लामा प्रथम भएर नगद २५ हजार र प्रमाणपत्र पाएका थिए।

हरिरामले कृषि ज्ञान केन्द्रबाट पावरट्रेलर, ट्र्याक्टर, विषादी छर्ने ट्यांकी पनि अनुदानमा पाए।

‘यस्तो सहयोग पाएपछि धेरै खुसी लाग्यो। सरकारले मेहनत गर्ने किसानको मूल्यांकन गर्छ,’ उनले भने, ‘आफूले उत्पादन गरेको बालीको पैसा पनि आइराख्छ। अनुदान पाएपछि झन् सहज हुन्छ।’

अहिले हरिरामले दुई बिघा जमिनमा तरकारी खेती गरेका छन्। वर्षमा चार बाली तरकारी लगाउँछन्। उनको उत्पादन र व्यापार सोचेजस्तै भएको छ।

खुसी प्रकट गर्दै उनले भने, ‘नगदे बाली, हात खाली नहुने। दैनिक पैसा आउने भएपछि मैलेजस्तो सोचे हुँदै गयो।’

धान, गहुँको तुलनामा तरकारी उत्पादनबाट हरिरामले बढी फाइदा लिएका छन्। कट्ठाको हिसाबमा धान, गहुँ उत्पादनले तरकारीलाई भेट्दैन। हरिरामका अनुसार तरकारी खेतीको अधिकांश काम परिवारका सदस्यले नै गर्छन्। बढी काम परेको अवस्थामा आवश्यकताअनुसार कामदार राख्छन्।

उनले एक वर्षअघि ‘अजयविजय कृषि फर्म’ दर्ता गराएका छन्। हाल सबै खर्च कटाएर वार्षिक १० लाख रूपैयाँसम्म बचत हुने उनले बताए।

हरिरामले सुदूरपश्चिमको मुख्य बजार अत्तरियामा घर बनाएर भाडामा दिएका छन्। गाउँमा एक बिघा जग्गा किनेका छन्। गाउँमै पक्की घर बनाएका छन् जहाँ आफू बस्छन्।

उनले दुई वटा ट्र्याक्टर किनेका छन्। मोटरसाइकल र ट्र्याक्टरमा तरकारी राखेर बजार पुर्‍याउँछन्। तरकारी किन्नेहरू उनको बारीमै पनि पुग्छन्। उनले उत्पादन गरेको तरकारी कैलाली र बर्दियाका बजार तथा पहाडी बजारमा पनि पुग्छ। कहिलेकाहीँ बुटवलतिर पनि पठाउने गरेका छन्।

हरिरामको दिनचर्या तरकारीमै बित्छ। बिहानै तरकारी लिएर बजार जान्छन्। खनजोत, गोडमेल र खेतीको तयारीको

रेखदेख गर्छन्।

उनी भन्छन्, ‘दिनभरि बारीतिरै हुन्छु। खान खान मात्रै घरमा हुन्छ। यही पेसालाई निरन्तरता दिएको छु, यसमै खुसी छु।’

तरकारीको बिउ सजिलै पाइने भए पनि मल पाउन गाह्रो हुने गरेको हरिरामको भनाइ छ। अत्तरिया, धनगढी र गुलरियाका बजारमा बिउ सजिलै पाइन्छ। मल सहकारीबाट सधैं पाइँदैन। मल अभाव हुँदा दोब्बर मूल्यमा किन्नुपर्छ। सरकारले मल पुर्‍याउन नसकेको उनको गुनासो छ।

हरिरामका अनुसार हरेक सिजनमा मलको समस्या छ। आफ्नो देशमा मल उत्पादन छैन। बाहिरबाट सरकारले ल्याउन सकेको छैन। बिचौलियाले ल्याउने मल किन्दा किसानहरू मर्कामा पर्ने उनले बताए।

‘माटो बिग्रिनु भनेको हाम्रो प्राण बिग्रिनु हो। माटो रोगी हुनु हामी रोगी हुनु हो। किसानले रासायनिक मल मात्र नहालेर पिना, कम्पोस्ट मल, हरियो मल बढी हाले राम्रो हुन्छ,’ उनी भन्छन्।

सिँचाइका लागि उनी मोटरको सहायताले भूमिगत पानी तान्छन्।

हरिराम अहिले गाउँमा कृषकहरूका लागि प्रेरणाका स्रोत बनेका छन्। उनको उन्नति हुँदै गएपछि अरूहरू पनि तरकारी उत्पादनमा लागेका छन्।

स्थानीय कृषक जितबहादुर चौधरीका अनुसार हरिरामपछि गाउँका करिब सय परिवार तरकारी खेतीमा लागेका छन्। जितबहादुरले डेढ बिघा जमिनमा तरकारी लगाएका छन्।

हरिरामकै काम पछ्याउँदै बालुवाफाटा गाउँका बासिन्दाहरू व्यावसायिक तरकारी खेतीमा सक्रिय छन्।

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button